
रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ बेनिनगर क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरिएका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका ३५ थान आईफोन र एक भारतीय मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार मुरावले चलाउँदै आएको UP 53 DX 8838 नम्बरको भारतीय मोटरसाइकल शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न मोडेलका ३५ थान आईफोन इलाका प्रहरी कार्यालय, मझागाँवाद्वारा बरामद गरिएको हो।
बरामद आईफोनहरूको अनुमानित मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। साथै, करिब ८० हजार रुपैयाँ मूल्य बराबरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। यससँगै बरामद गरिएका आईफोन र मोटरसाइकलको कुल अनुमानित मूल्य २० लाख ५० हजार रुपैयाँ पुगेको छ।
प्रहरीले बरामद आईफोन, मोटरसाइकल तथा चालक मुरावलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइने तयारी गरिएको प्रहरीले जनाएको छ।
हाल प्रहरी निरीक्षक तपेश बिष्टको नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालय मझगॅावाबाट प्रहरी सेवा थप प्रभावकारी बन्दै गएको छ। उनको सक्रिय पहलमा लागूऔषध नियन्त्रण चोरिपैठारी नियन्त्रणको कार्यमा उल्लेखनीय सफलता हासिल गर्दै प्रहरी सेवाको पहुँच विस्तार भएको छ भने कार्यालयको व्यवस्थापन र कार्यसम्पादनमा उल्लेखनीय सुधार देखिएको छ। कर्तव्यनिष्ठ, इमानदार र परिणाममुखी कार्यशैलीका कारण उहाँ एक काबिल प्रहरी अधिकृतका रूपमा परिचित हुनुहुन्छ।




