
वीरगञ्ज । बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्सामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सुरु भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जको संयुक्त आयोजनामा असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी अभियान बुधबार वीरगञ्जमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले गरेका थिए। कार्यक्रममा सुरक्षा निकाय, विभिन्न सामाजिक संस्था, विद्यालय, उद्योगी–व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभियानअन्तर्गत वीरगञ्जको घण्टाघरबाट सुरु भएको जनचेतनामूलक र्याली लिंक रोड, बसपार्क र भानुचोक हुँदै पुनः घण्टाघरमा पुगेर सम्पन्न भएको थियो। र्यालीमा सहभागीहरूले ‘हेल्मेट जीवनको कवच हो’, ‘सिटबेल्ट लगाऔँ, जीवन बचाऔँ’, ‘गति होइन, सुरक्षा रोजौँ’ लगायतका सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउँदै चालक, यात्रु, पैदलयात्री तथा सम्पूर्ण नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
आयोजकका अनुसार सप्ताहव्यापी अभियानअन्तर्गत विद्यालय, सार्वजनिक स्थल तथा यातायात व्यवसायीहरूलाई लक्षित गरी प्रशिक्षण, अन्तरक्रिया, पर्चा वितरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरिबहादुर बस्नेत, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, सशस्त्र प्रहरी बल नं. १३ गणका डीएसपी, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सरोकारवालाहरूले सडक सुरक्षालाई सरकारी निकायको मात्र नभई सामूहिक सामाजिक अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। बढ्दो दुर्घटनाविरुद्ध सुरु गरिएको यो अभियानले नागरिकमा ट्राफिक सचेतना बढाई सडक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



