
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले बहुचर्चित ‘नक्कली चोरी’ प्रकरणको सफल अनुसन्धान गर्दै घटनाको वास्तविकता सार्वजनिक गरेको छ।
कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा खटिएको प्रहरी टोलीले गरेको अनुसन्धानबाट पसल सञ्चालक दीपक सेन्चुरी (विक) र कर्मचारी नवीन विकले बीमा रकम असुल्ने तथा धितोमा राखिएको सुनचाँदी हिनामिना गर्ने उद्देश्यले चोरीको नाटक रचेको खुलेको हो।

प्रहरीका अनुसार उनीहरूले योजनाबद्ध रूपमा चोरी भएको झुटो सूचना दिई आर्थिक लाभ लिने प्रयास गरेका थिए। घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाउँदै प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषणका आधारमा घटनाको वास्तविकता पत्ता लगाएको जनाएको छ।
अनुसन्धानबाट कथित चोरीको घटना वास्तविक नभई पूर्वयोजनाअनुसार मञ्चन गरिएको पुष्टि भएपछि संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
डीएसपी श्रीवास्तवको नेतृत्वमा भएको यस अनुसन्धानलाई बुटवल क्षेत्रको पछिल्लो समयको महत्वपूर्ण सफल अनुसन्धानका रूपमा हेरिएको छ। प्रहरीले यस्ता आपराधिक गतिविधिविरुद्ध कडा निगरानी र अनुसन्धानलाई निरन्तरता दिने जनाएको छ।



