काठमाडौं । चर्चित हास्य टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ ले आफ्नो दोस्रो सिजनअन्तर्गत नेपाल प्रहरीलाई समर्पित विशेष ट्रिब्युट एपिसोड प्रसारण गर्ने भएको छ। एपिसोड–६० का रूपमा तयार पारिएको यो विशेष श्रृंखला पूर्ण रूपमा नेपाल प्रहरी केन्द्रित रहने कार्यक्रम पक्षले जनाएको छ।

कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारी का अनुसार पछिल्ला विभिन्न घटनाक्रमका कारण प्रहरी संगठनभित्र देखिएको मनोबलको अवस्थालाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरूमा सकारात्मक ऊर्जा, आत्मविश्वास र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले यो एपिसोड निर्माण गरिएको हो।

विशेष एपिसोडमा दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। कार्यक्रममा एक सयभन्दा बढी प्रहरी कर्मचारी बर्दीसहित उपस्थित रहेको बताइएको छ।

एपिसोडमा कलाकारहरूले प्रहरी जीवनका विविध आयामलाई हास्य र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रहरी कर्मचारीहरूले परिवारबाट टाढा रहेर निर्वाह गर्नुपर्ने जिम्मेवारी, ड्युटीका क्रममा भोग्नुपर्ने कठिनाइ, सेवाप्रतिको समर्पण तथा समाजमा शान्ति–सुरक्षा कायम गर्न उनीहरूले खेल्ने भूमिकालाई विभिन्न स्केच र अभिनयमार्फत दर्शाइएको छ।

निर्देशक भण्डारीका अनुसार कलाकारहरूको प्रस्तुति र व्यंग्यात्मक अभिनयले कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा पनि जोड्न सफल भएको छ।

कार्यक्रमको अध्यक्षता चर्चित कलाकार तथा निर्माता दीपाश्री निरौला ले गरेकी छन्। कार्यक्रममा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र कर्मा सिंह लामा लगायतले प्रस्तुति दिएका छन्।

आयोजकका अनुसार यो विशेष एपिसोडले नेपाल प्रहरीको त्याग, समर्पण र सेवाभावप्रति सम्मान व्यक्त गर्नुका साथै संगठनभित्र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नेपाल प्रहरी विशेष एपिसोड आगामी मंगलबार प्रसारण हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय