
रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। बरामद गरिएका सबै सामग्री आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस विज्ञप्तिअनुसार दुई छुट्टाछुट्टै स्थानबाट ती सामग्रीहरू बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ स्थित बमनहर सडकखण्डमा जाँच गर्ने क्रममा शनिवार बिहान प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीबाट अवैध सामान फेला पारेको हो।

चालक गाडी छाडेर फरार भएको र उक्त गाडी बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।
उनका अनुसार गाडीमा लोड गरिएको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३,००० किलोग्राम गुँड तथा करिब २० लाख रुपैयाँ मूल्य बराबरको पिकअप गाडी समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको अर्को टोलीले रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित झाझ पुल नजिक चेकिङका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको ८१ थान (२.२५ लिटर) माउन्टेन डिउ, करिब ९ हजार रुपैयाँ बराबरको, बरामद गरेको छ।
उक्त सामग्रीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



