काठमाडौं, जेठ १९ — आफूलाई प्रहरी कर्मचारी भन्दै सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने तथा लुटपाटका घटनामा संलग्न एक युवकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नुवाकोटको तादी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने २४ वर्षीय साजन प्याकुरेललाई पक्राउ गरिएको हो।

प्रहरीले जनाएअनुसार प्याकुरेलले विभिन्न स्थानमा आफू प्रहरी भएको परिचय दिँदै सर्वसाधारण तथा लागूऔषध दुर्व्यसनीहरूलाई प्रलोभनमा पार्ने, धम्क्याउने र रकम असुल्ने कार्य गर्दै आएका थिए। उनी लुटपाट तथा कुटपिटका घटनामा समेत संलग्न रहेको आरोप छ।

यसबाहेक विभिन्न व्यक्तिलाई फोन गरी अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने तथा दुःख दिने गरेको उजुरीका आधारमा प्रहरीले उनको खोजी थालेको थियो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई जेठ १८ गते काठमाडौंको टोखा नगरपालिका–३ चण्डेश्वरी क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका प्याकुरेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले नागरिकलाई कुनै व्यक्तिले आफू प्रहरी भएको भन्दै अनधिकृत रूपमा रकम मागे वा धम्क्याएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय