
विराटनगर । मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झालाई दिइएको ‘पिर्के सलामी’ प्रकरणले नयाँ मोड लिएको छ। प्रहरी संगठनको मर्यादा र प्रचलित प्रोटोकलविपरीत सलामी दिइएको निष्कर्षसहित सम्बन्धित प्रहरी अधिकृतसँग स्पष्टीकरण मागिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) नरेन्द्रकुमार बोगटीलाई लिखित स्पष्टीकरण सोधेको जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद आशा झा रातो कपडा ओछ्याइएको पिर्कामा उभिएर प्रहरी टोलीबाट सलामी ग्रहण गरिरहेको दृश्य देखिएपछि व्यापक चर्चा र आलोचना भएको थियो।

प्रहरी स्रोतका अनुसार प्रचलित नियम र औपचारिक प्रोटोकलअनुसार मन्त्री वा सोभन्दा माथिल्लो तहका विशिष्ट व्यक्तिलाई मात्रै यस्ता औपचारिक सलामीको व्यवस्था गरिन्छ। सांसदका लागि यस्तो व्यवस्था गर्ने कानुनी वा संस्थागत प्रावधान नरहेकाले उक्त कार्यलाई प्रोटोकल उल्लंघनका रूपमा हेरिएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै सांसद आशा झाले आफूले सलामीको माग नगरेको बताएकी छन्। उनका अनुसार काली मन्दिर दर्शनका क्रममा रंगेली पुगेका बेला स्थानीय प्रहरीले कार्यालय भ्रमणका लागि आग्रह गरेको थियो। “उहाँहरूले सम्मान प्रकट गर्नुभयो, मैले त्यसलाई अस्वीकार गरिनँ,” उनले स्पष्ट पारेकी छन्।
प्रहरी संगठनभित्र भने यस घटनालाई अनुशासन र मर्यादासँग जोडेर हेरिएको छ। माथिल्लो निकायसँग आवश्यक समन्वय नगरी सलामी कार्यक्रम आयोजना गरिएको भन्दै इन्स्पेक्टर बोगटीलाई स्पष्टीकरण सोधिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीका अनुसार प्राप्त जवाफको आधारमा थप विभागीय कारबाहीबारे निर्णय गरिनेछ। “प्रोटोकल पालना नभएको देखिएकाले स्पष्टीकरण मागिएको हो। जवाफ सन्तोषजनक नभए आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ,” ती अधिकारीले बताए।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त घटनाले जनप्रतिनिधि र सुरक्षा निकायबीचको मर्यादा, प्रोटोकल तथा संस्थागत आचरणबारे नयाँ बहससमेत सिर्जना गरेको छ।



