
काठमाडौं । नेपाल भ्रमणमा रहेका जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले आज नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन्।
भ्रमणका क्रममा उनलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। स्वागतपछि उनले प्रधान कार्यालय परिसरमा ‘कल्पवृक्ष’ रोपण गरेका थिए।

अवलोकनपछि आयोजित कार्यक्रममा शंकराचार्यद्वारा आईजीपी कार्कीको शब्द रचनामा आधारित ‘शिव शम्भू’ (भगवान शिवप्रति समर्पित) भजनको विमोचन गरिएको थियो।
सो अवसरमा उनले “सत्य, सेवा, सुरक्षणम्” को मूल मन्त्र आत्मसात् गर्दै नागरिक सुरक्षामा समर्पित नेपाल प्रहरीलाई आगामी दिनमा अझ सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा आईजीपी कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै शंकराचार्यको आगमनले नेपाल प्रहरी परिवारलाई आत्मिक शान्ति, दिव्य प्रेरणा र गौरवको अनुभूति गराएको उल्लेख गर्दै हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गरेका थिए।




