
रितु खड्का । डा.तोसिमा कार्की ले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर वृद्धि गरी कम्तीमा ५० प्रतिशत पुर्याउनुपर्ने माग गरेकी छन् ।
आइतबार आयोजित सार्वजनिक स्वास्थ्य करसम्बन्धी कार्यक्रममा बोल्दै उनले जनस्वास्थ्य सुधार तथा स्वास्थ्य बिमालाई दिगो बनाउन यस्तो नीति आवश्यक रहेको बताइन् ।

उनले सन् २०३५ सम्म सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सिफारिस गरिएको उल्लेख गर्दै करको उद्देश्य केवल राजस्व संकलन नभई सुर्तीजन्य पदार्थको उपभोग घटाउनु रहेको स्पष्ट पारिन् ।
सांसद कार्कीका अनुसार हाल भइरहेको तीनदेखि पाँच प्रतिशतसम्मको सामान्य कर वृद्धिले उपभोक्ताको व्यवहारमा प्रभाव पार्न नसकेको बताइन् । पर्याप्त कर वृद्धि भए मात्र सुर्तीजन्य पदार्थको उपभोग घट्ने र त्यसबाट उत्पन्न रोगको भार कम गर्न सकिने उनको भनाइ छ ।
दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम, करिब ४१ प्रतिशत मात्रै कर लाग्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले यसको पुनरावलोकन आवश्यक रहेको बताइन् ।
उनले सुर्तीजन्य पदार्थले क्यान्सर मात्र नभई रक्तनलीसम्बन्धी गम्भीर रोगसमेत निम्त्याउने उल्लेख गरिन् । यसले नागरिकको उत्पादकत्व घटाउनुका साथै अपाङ्गता वृद्धि हुने र राज्यलाई थप आर्थिक भार पर्ने उनले बताइन् ।
विशेषगरी युवा तथा न्यून आय भएका वर्गमा कर वृद्धिले सुर्तीजन्य पदार्थको उपभोग घटाउन मद्दत पुग्ने भएकाले यस्तो नीति विपन्न वर्गकै हितमा हुने सांसद कार्कीको तर्क छ ।
त्यस्तै, सुर्तीजन्य पदार्थ, मदिरा तथा हानिकारक पेय पदार्थबाट उठ्ने राजस्वलाई स्वास्थ्य बिमामा लगानी गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारिन् । हाल उठेको राजस्व अन्य क्षेत्रमा खर्च भइरहेको भन्दै उनले स्वास्थ्य बिमाको पुनर्संरचनामा लगानी गर्न सके जनताले पनि सकारात्मक रूपमा स्वीकार गर्ने धारणा राखिन् ।
धुम्रपान गर्ने व्यक्तिले छाड्ने धुवाँका कारण बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भन्दै उनले ‘प्यासिभ स्मोकिङ’बाट सिर्जित सामाजिक लागत नियन्त्रण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।
बजेट वक्तव्यको अन्तिम तयारी भइरहेका बेला स्वास्थ्य बिमाको पुनर्संरचनाका लागि आफूले अर्थसचिव तथा अर्थमन्त्रीसँग निरन्तर छलफल गरिरहेको जानकारी समेत उनले दिइन् ।




