
काभ्रे । केहीदिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) रविन कार्की र जिल्लामा क्रियाशील सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, नागरिक सुरक्षालगायत समसामयिक विषयमा केन्द्रित रहेर आयोजित कार्यक्रममा पत्रकारहरूले जिल्लाको सुरक्षा अवस्था, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा प्रहरी–नागरिक सम्बन्धका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा एसपी कार्कीले काभ्रेको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने, नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने तथा सञ्चारमाध्यमसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले सूचना प्रवाहलाई पारदर्शी र जिम्मेवार बनाउँदै अपराध नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
पत्रकारहरूले पनि सत्य, तथ्य र जिम्मेवार पत्रकारितामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै प्रहरीसँग समन्वय गरेर काम गर्ने धारणा राखेका थिए ।
अन्तरक्रियाले प्रहरी र सञ्चारकर्मीबीच आपसी समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।




