
काठमाडौं, जेठ ८ — नेपालमा लागूऔषध कारोबार र प्रयोगको अवस्था झन् भयावह बन्दै गएको तथ्य सार्वजनिक भएको छ । नेपाल प्रहरीले वैशाख महिनाको एक महिनाको अवधिमै लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न १ हजार ५६ जनालाई पक्राउ गरेको जनाएको छ । यो तथ्यांकले देशभर लागूऔषधको सञ्जाल कति गहिरो रूपमा फैलिएको छ भन्ने स्पष्ट संकेत गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी कोशी प्रदेशका २ सय ६ जना रहेका छन् । त्यसपछि उपत्यकाबाट १ सय ७१ जना, लुम्बिनी प्रदेशबाट १ सय ६९ जना, सुदूरपश्चिमबाट १ सय ६७ जना, बागमती प्रदेशबाट १ सय ५४ जना, मधेश प्रदेशबाट ७० जना, गण्डकी प्रदेशबाट ५६ जना, कर्णाली प्रदेशबाट २१ जना तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना पक्राउ परेका हुन् ।

एक महिनामा बरामद गरिएको लागूऔषधको परिमाण झन् डरलाग्दो देखिएको छ । प्रहरीले १ हजार ८ सय २० किलोभन्दा बढी गाँजा, १९ किलोभन्दा बढी चरेस, ४ किलोभन्दा बढी हेरोइन, करिब ८ किलो अफिम, कोकिन, पोलेन लगायत विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
त्यसैगरी नियन्त्रित औषधिको नाममा दुरुपयोग हुँदै आएका हजारौं एम्पुल डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन समेत बरामद गरिएको छ । ट्रामाडोल मात्रै २ लाख ३ हजारभन्दा बढी ट्याब्लेट बरामद हुनु अत्यन्त गम्भीर विषय भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
सुरक्षा विज्ञहरूका अनुसार नेपाल पछिल्लो समय लागूऔषध ओसारपसारको ‘ट्रान्जिट रुट’ मात्र नभई आन्तरिक उपभोगको ठूलो बजार बन्दै गएको संकेत यी तथ्यांकहरूले गरेका छन् । विशेषगरी युवापुस्तामा लागूऔषध प्रयोग बढ्दै जानु समाजका लागि ठूलो चुनौती बनेको छ ।
नेपाल प्रहरीले लागूऔषध कारोबार, उत्पादन, ओसारपसार तथा प्रयोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशभर विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ । साथै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विद्यालय, कलेज र समुदायस्तरमा जनचेतनामूलक अभियान समेत तीव्र बनाइएको प्रहरीको भनाइ छ ।
तर एक महिनामै हजारभन्दा बढी व्यक्ति पक्राउ पर्नु र ठूलो मात्रामा लागूऔषध बरामद हुनु स्वयंमा राज्य, समाज र परिवार सबैका लागि गम्भीर चेतावनीको घण्टी बनेको छ ।




