
धनगढी।नेपाल प्रहरी अन्तर्गत सुदूरपश्चिमको बाजुरा जिल्लामा पहिलो पटक महिला प्रहरी अधिकृतले सुरक्षा नेतृत्व सम्हालेकी छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहरालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुखका रूपमा खटाएपछि जिल्लाको सुरक्षा कमाण्ड अब महिला अधिकृतको काँधमा पुगेको हो ।
प्रहरी संगठनभित्र डीएसपी बोहरा अनुसन्धानमा दक्ष, अनुशासित तथा परिणाममुखी अधिकृतका रूपमा परिचित छिन् । विशेषगरी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन तथा समन्वयात्मक कार्यशैलीमा उनको अनुभव प्रभावकारी मानिन्छ ।

यसअघि बाजुरामा कार्यरत डीएसपी इकबाल हवारीको नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपछि बोहरालाई बाजुराको जिम्मेवारी दिइएको हो ।
डीएसपी बोहराको आगमनसँगै बाजुरामा महिला नेतृत्वप्रति सकारात्मक सन्देश गएको स्थानीयवासीको भनाइ छ । दुर्गम जिल्ला मानिने बाजुरामा महिला प्रहरी अधिकृतले नेतृत्व सम्हाल्नु केवल संगठनात्मक परिवर्तन मात्र नभई महिला सशक्तीकरण र नेतृत्व क्षमताको महत्वपूर्ण उदाहरणका रूपमा समेत हेरिएको छ ।
प्रहरी वृत्तमा डीएसपी बोहरा सम्भवतः सुदूरपश्चिम प्रदेश मै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने पहिलो महिला प्रहरी अधिकृत बनेकी हुन् । यो नियुक्तिलाई नेपाल प्रहरी संगठनभित्र महिला नेतृत्व विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा समेत चर्चा गरिएको छ ।




