
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले मनसुनजन्य विपद्का कारण सडक तथा सवारी व्यवस्थापनमा हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले “सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान–२०८३” शुभारम्भ गरेको छ ।
अभियान अन्तर्गत काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरूमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको कार्यालयले जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधका कारण यात्रुहरूले भोग्ने समस्या कम गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको हो ।

कार्यालयका अनुसार विगतका वर्षहरूमा मनसुनका कारण सडक सञ्जाल अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने, सवारी दुर्घटना बढ्ने तथा उद्धार कार्य प्रभावित हुने समस्या देखिएकाले यस वर्ष पूर्वतयारीलाई प्राथमिकतामा राखिएको छ ।
अभियानको मुख्य उद्देश्य विगतका मनसुनजन्य घटनाको तथ्याङ्क विश्लेषण गरी सम्भावित जोखिमको पूर्वानुमान गर्नु, जल उत्पन्न प्रकोपबाट हुन सक्ने विपद् न्यूनीकरण गर्नु तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनु रहेको छ ।
यसका साथै मातहत ट्राफिक प्रहरी इकाईहरूले स्थानीय तह, संघसंस्था, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दासँग समन्वय गरी आवश्यक साधनस्रोत परिचालन गर्ने योजना बनाइएको छ । सम्भावित सडक अवरोधलाई ध्यानमा राख्दै सवारी साधन पार्किङ, डाइभर्सन तथा वैकल्पिक मार्ग व्यवस्थापनको पूर्वतयारीसमेत गरिएको जनाइएको छ ।
‘रेड अलर्ट’ मा विशेष निगरानी
मनसुन अवधिमा मौसम पूर्वानुमान महाशाखाबाट अत्यधिक वर्षाको ‘रेड अलर्ट’ जारी भएमा जोखिमयुक्त सडक खण्डमा रात्रिकालीन तथा लामो दूरीका सवारी साधन सञ्चालनमा विशेष निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । आवश्यक परे सुरक्षित स्थानमा सवारी रोक्ने व्यवस्था समेत गरिनेछ ।
मुख्य नाकाहरूमा स्थापना गरिएका नागरिक सहायता कक्षमार्फत चालक र यात्रुहरूलाई सडकको वास्तविक अवस्था, बाढी–पहिरोको जोखिम तथा वैकल्पिक मार्गबारे प्रत्यक्ष सूचना प्रदान गरिनेछ । यसबाट यात्रुहरूलाई बीच बाटोमा अलपत्र पर्न नदिई समयमै सुरक्षित निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
डाइभर्सन र उद्धार टोलीलाई प्राथमिकता
बाढी वा पहिरोका कारण सडक अवरुद्ध भएमा अस्थायी डाइभर्सनमार्फत सवारी आवागमन सञ्चालन गरिने तथा जाम व्यवस्थापनमा ट्राफिक प्रहरी सक्रिय रहने बताइएको छ ।
त्यस्तै विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा एम्बुलेन्सजस्ता उद्धार टोलीहरू छिटो पुग्न सकून् भन्ने उद्देश्यले सडकको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने जनाइएको छ ।
सवारी साधनको विशेष चेकजाँच
मनसुनमा सडक चिप्लो हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्थामाथि विशेष निगरानी गर्ने भएको छ ।
विशेषगरी वाइपर, टायर, ब्रेक, हेडलाइट लगायतका उपकरणको अवस्था जाँच गरिनेछ भने ओभरलोड तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनमाथि कडाइ गरिने कार्यालयले जनाएको छ ।
सडक विभागसँग २४ सै घण्टा समन्वय
पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएमा तत्काल लोडर, एस्काभेटर (जेसीबी) लगायत उपकरण परिचालन गरी सडक खुलाउन सडक विभाग, स्थानीय तह तथा सम्बन्धित निकायसँग २४ सै घण्टा समन्वय गरिने योजना बनाइएको छ ।
मनसुनको भयावह तथ्याङ्क
ट्राफिक प्रहरीका अनुसार विगत एक दशक (वि.सं. २०७२–२०८१) मा मनसुनजन्य विपद्का कारण देशभर २ हजार ३ सय १७ जनाले ज्यान गुमाएका छन् भने ४१९ जना बेपत्ता भएका छन् । यस अवधिमा २ हजार ६ सय ४९ जना घाइते भएका र ५६ हजार ७ सय ५ परिवार प्रभावित भएको तथ्याङ्क छ ।
त्यस्तै ३६ हजारभन्दा बढी घरधुरीमा क्षति पुगेको देखिएको छ ।
वि.सं. २०८२ सालको मनसुन अवधिमा मात्रै देशभर औसतभन्दा बढी वर्षा हुँदा बाढी र पहिरोका कारण ४९५ जनाको मृत्यु, ६६ जना बेपत्ता तथा ५२२ जना घाइते भएका थिए । उक्त विपद्बाट हजारौं परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।
गत वर्ष बाढी–पहिरोका कारण २४४ वटा पुल, १८९ शैक्षिक संस्था, १५० सरकारी कार्यालय तथा ८५ जलविद्युत आयोजना प्रभावित भएका थिए । निजी आवासीय तथा व्यावसायिक प्रयोजनका ८ हजार ८ सय ८८ घरटहरामा पूर्ण क्षति पुगेको थियो भने ३ हजार ५ सयभन्दा बढी घरमा आंशिक क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।
सिमलताल र झ्याप्ले खोलाजस्ता घटना नदोहरिने लक्ष्य
पछिल्ला वर्षहरूमा अव्यवस्थित सडक निर्माण, राजमार्ग विस्तार तथा मर्मत कार्यका कारण पहिरोको जोखिम बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ । गत वर्षको सिमलताल बस दुर्घटना तथा झ्याप्ले खोलामा आएको पहिरोका कारण ९४ जनाले ज्यान गुमाएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै यस वर्ष पूर्वतयारीमा विशेष जोड दिइएको छ ।
त्यस्तै मुग्लिङ–नारायणघाट सडक खण्डमा मात्रै वि.सं. २०७९ मा ३६ पटक र २०८० मा ३० पटक पहिरोका कारण यातायात अवरुद्ध भएको तथ्याङ्कले मनसुन व्यवस्थापनको चुनौती झन् स्पष्ट पारेको ट्राफिक प्रहरीको भनाइ छ ।
ट्राफिक प्रहरीले मनसुन अवधिमा अनावश्यक जोखिमपूर्ण यात्रा नगर्न, मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




