पोखरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा, कास्कीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) गोबिन्द राज काफ्लेले सम्हाल्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको निर्णयअनुसार सरुवा भई आउनुभएका एसपी काफ्लेलाई कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच स्वागत गरिएको हो । सोही कार्यक्रममा सरुवा भई जानुभएका एसपी दान बहादुर थापालाई बिदाइ गर्दै “स्वागत तथा फेरि भेटौँला, जिम्मेवारी हस्तान्तरण कार्यक्रम” सम्पन्न गरिएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सरुवा भई जानुभएका एसपी दान बहादुर थापाले गगनगौडा कार्यालयमा कार्यरत रहँदाको अनुभव स्मरण गर्दै कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न ट्राफिक व्यवस्थापन तथा सुरक्षा सम्बन्धी गतिविधिमा सबैको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीप्रति धन्यवाद तथा प्रशंसा व्यक्त गर्नुभयो ।

एसपी थापाले नवआगन्तुक कार्यालय प्रमुख एसपी गोबिन्द राज काफ्लेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यालयले अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, नवआगन्तुक एसपी गोबिन्द राज काफ्लेले सरुवा भई जानुभएका एसपी दान बहादुर थापालाई आगामी कार्यकालका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले एसपी थापाले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापन, राजमार्ग सुरक्षा तथा संगठनात्मक सुदृढीकरणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

एसपी काफ्लेले आगामी दिनमा ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित, सुरक्षित र नागरिकमैत्री बनाउँदै प्रभावकारी सेवा प्रवाहमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय