
काँकडभिट्टा— पूर्वी नाका काँकडभिट्टाबाट सोमबार साँझ करिब डेढ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन तथा ठूलो परिमाणमा विदेशी मुद्रा बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको २४ क्यारेट ९९९.९ प्योरिटीको ५७० ग्राम सुन बरामद गरेको हो। बरामद सुनको बजार मूल्य करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा भारतको कोलकाता निवासी ३९ वर्षीय परम पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका पाठकको साथबाट २० हजार अमेरिकी डलर तथा ८४ हजार ५ सय ७० भारतीय रुपैयाँ समेत बरामद गरिएको छ। बरामद अमेरिकी डलरको नेपाली मूल्य करिब २० लाख ६४ हजार रुपैयाँ बराबर हुने बताइएको छ।
यसका साथै उनको साथबाट सवारी चालक अनुमति पत्र, आधार कार्ड, विभिन्न बैंकका कार्ड, सिमकार्ड, मोबाइल फोन तथा चेकसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सुन, विदेशी मुद्रा तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल काँकडभिट्टाका डीएसपी विकास थापाले जानकारी दिएका छन्।




