कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ रेन्जर पोस्टस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।

मिति २०८३ जेठ २ गते बिहान करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको DL4CNE9412 नम्बरको टोयटा कारलाई ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा सवारीसँग सम्बन्धित भन्सार तथा अन्य आवश्यक कागजात फेला नपरेपछि उक्त कारलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे, कपिलवस्तु ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कार चालकले आवश्यक कागजात छुटेको भन्दै लिन जान्छु भनेर गएको तर लामो समयसम्म सम्पर्कमा नआएपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि सवारी साधनको थप जाँच गर्दा दोस्रो सिटको पछाडिपट्टि फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा “For Sale In Haryana Only Made In India” लेखिएका २३३ बोतल मदिरा फेला परेको हो ।

बरामद मदिरा र कार आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय