
काठमाडौं, २२ वैशाख । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दिपक लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई र इनरूवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्यूरो, भोटाहिटीको नाम दुरूपयोग गरी पीडितहरूलाई फोन सम्पर्कमार्फत डर–त्रास देखाउँदै तथा प्रलोभनमा पारी रकम पठाउन लगाउने गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।
साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय धरान, सुनसरीको समन्वयमा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरू उपर विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




