
काठमाण्डौं। वीरगञ्जस्थित पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
विकास योजनाको विषयमा विवाद गर्दै कार्यालयको सम्पत्तिमा क्षति पुर्याएको आरोपमा उनीहरूलाई सोमबार नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–११ का ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ९:२० बजे उनीहरू वीरगञ्ज–२३ स्थित कार्यालय प्राङ्गणमा पुगेर अभद्र व्यवहार गरेका थिए। त्यसक्रममा पूर्वाधार विकास योजनाको विषयलाई लिएर कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग उनीहरूको विवाद भएको थियो।
विवादकै क्रममा उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार भएका थिए।
घटनाबारे कार्यालय प्रमुखले दिउँसो करिब २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरमा टेलिफोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले फरार रहेका दुवै जनालाई पक्राउ गर्न सफल भएको हो।
हाल पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




