काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने तथा शान्ति सुरक्षामा नकारात्मक असर पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

सुनकोशी गाउँपालिका–३ का श्रीकृष्ण विकको मृत्यु घटनासँग सम्बन्धित तथ्यहीन, भ्रामक तथा अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका विक गत सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासत कक्षभित्र रहेको शौचालयमा रडमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

उक्त घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा पीडित पक्षका प्रतिनिधि, जिल्लास्थित दलित संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता रहेको जनाइएको छ।

प्रहरीले छानबिन समितिले काम सुरु गरिसकेको उल्लेख गर्दै समितिको प्रतिवेदन आएपछि घटनाको यथार्थ विवरण सार्वजनिक गरिने स्पष्ट पारेको छ। साथै, अपुष्ट र भ्रामक सूचना फैलाउन नहुनेतर्फ सचेत रहन सबै पक्षलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय