विराटनगर । मोरङ जिल्लामा विद्यार्थीहरूबीच बढ्दो धूम्रपान तथा हुक्का सेवनको प्रवृत्तिलाई नियन्त्रण गर्न प्रहरीले कडा अभियान सुरु गरेको छ। विशेषगरी विद्यालय तथा कलेज पोशाकमै क्याफे र रेस्टुरेन्टहरूमा बसेर चुरोट र हुक्का सेवन गर्ने गतिविधि बढेपछि नेपाल प्रहरी अन्तर्गत मोरङ प्रहरीले निगरानी तीव्र बनाएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालले यस्तो गतिविधि सह्य नहुने स्पष्ट पार्दै विद्यार्थीलाई कुलततर्फ धकेल्ने कुनै पनि कार्यविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनले विद्यालय वा कलेज पोशाकमै रहेका विद्यार्थीलाई क्याफेमा धूम्रपान वा हुक्का सेवन गर्न दिनु कानुनविपरीत भएको उल्लेख गर्दै यसमा संलग्न विद्यार्थी मात्र नभई सम्बन्धित क्याफे तथा रेस्टुरेन्ट सञ्चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिने बताए।

प्रहरीका अनुसार पछिल्लो समय अभिभावक तथा सरोकारवालाबाट यस्तो गतिविधिबारे गुनासो बढ्दै गएको छ। त्यसलाई मध्यनजर गर्दै जिल्लाभर सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ भने आकस्मिक अनुगमन तथा सर्च अपरेशनलाई पनि तीव्रता दिइएको छ। भीडभाड हुने क्याफे, रेस्टुरेन्ट तथा विद्यार्थीहरू बढी जाने स्थानहरूलाई लक्षित गरी विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ।

एसपी कटवालले व्यापारिक फाइदाका लागि विद्यार्थीलाई धूम्रपान तथा हुक्का सेवनमा प्रोत्साहित गर्ने कार्य सामाजिक रूपमा पनि घातक रहेको उल्लेख गर्दै यस्ता व्यवसायीमाथि कुनै किसिमको सहुलियत नदिइने प्रष्ट पारे। “नाफाका लागि भविष्यका पुस्तालाई बिगार्ने काम कुनै हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “यस्तो गतिविधिमा संलग्न जो कोही भए पनि कानुनअनुसार कारबाही हुन्छ।”

यससँगै उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीको दैनिक गतिविधि, संगत र समय व्यवस्थापनप्रति सचेत रहन आग्रह गरेका छन्। विद्यालय प्रशासन, स्थानीय समुदाय तथा व्यवसायीहरूले समेत विद्यार्थीलाई कुलतबाट जोगाउने अभियानमा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरीले यो अभियानलाई निरन्तर रूपमा अघि बढाउने जनाएको छ। सामाजिक अनुशासन कायम गर्न र विद्यार्थीहरूलाई स्वस्थ तथा सुरक्षित वातावरणमा अध्ययन गर्ने वातावरण सुनिश्चित गर्न यस प्रकारको निगरानी अझै कडाइका साथ जारी रहने मोरङ प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय