
पोखरा । पर्यटकलाई दुःख हैरानी दिने आरोपमा थप तीन जना महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड (वडा नं. ६) मा रातिको समयमा पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट तथा अनैतिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी लेकसाइड क्षेत्रमा केही व्यक्तिहरूले रातिको समयमा अनावश्यक हैरानी दिने तथा असामाजिक गतिविधि बढाएको भन्ने जनगुनासोपछि प्रहरी सक्रिय बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी गणेश पाण्डेका अनुसार यसअघि ५ बैशाखमा १६ जना महिलालाई लेकसाइड क्षेत्रबाट पक्राउ गरिएको थियो । सोही अभियान अन्तर्गत मंगलबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



