
काठमाडौं, ९ वैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ बस्ने काठमाडौं महानगरपालिका–१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका–२ राधेराधे बस्ने मोरङ बेलबारी नगरपालिका–२ घर भएकी ३६ वर्षीया बेनु श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार बिनिता नगरकोटीले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् भने बेनु श्रेष्ठले जर्मनी पठाइदिन्छु भन्दै एक जना पीडितबाट १६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिनितालाई कीर्तिपुर नगरपालिका–२ बाट मंगलबार र बेनुलाई मध्यपुर थिमी नगरपालिका–३ राधेराधेबाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।



