
मोरङ । मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति प्रहरीले हवाई फायर गरी ठूलो परिमाणको लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको हो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार रतुवामाई नगरपालिका–१ हटिया डाँडामा राति करिब सवा ८ बजेतिर उक्त घटना भएको हो। इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको भारतीय मोटरसाइकललाई शंका लागेर रोक्न खोजेको थियो।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकले तीव्र गतिमा भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँ रहेका छन्। उनलाई खानतलासी गर्दा कालो प्लास्टिकमा प्याक गरिएको अवस्थामा ५ पोका ब्राउन सुगर बरामद भएको छ। बरामद गरिएको ब्राउन सुगरको तौल प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मियाँ लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको छ।
पछिल्लो समय मोरङको सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारका घटनाहरू बढ्दै गएपछि प्रहरीले निगरानी तथा नियन्त्रणलाई थप कडा बनाएको जनाएको छ। ‘लागुऔषध तस्करी नियन्त्रणका लागि प्रहरीले कडा कदम चालिरहेको छ, यो कारबाही त्यसैको निरन्तरता हो,’ एसपी कटवालले बताए।



