
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले उनलाई महामन्त्रीमा चयन गरेको हो ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सभापति रवि लामिछानेले शाहलाई महामन्त्रीको जिम्मेवारी दिने प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

झाका अनुसार सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई पनि सभापतिबाट प्रस्ताव गरिएअनुसार केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
यसअघि रास्वपामा कबिन्द्र बुर्लाकोटी महामन्त्रीको जिम्मेवारीमा रहेका थिए । पार्टी संरचनाअनुसार दुई महामन्त्री रहने व्यवस्था भएअनुसार दोस्रो महामन्त्रीका रूपमा शाहलाई नियुक्त गरिएको हो । हाल बुर्लाकोटीलाई संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिइएको छ ।
पार्टी स्रोतका अनुसार यसअघि सहमहामन्त्रीका रूपमा शाहलाई जिम्मेवारी दिने र सुनिल लम्साललाई महामन्त्री बनाउने समझदारी बनेको थियो । तर लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेपछि पार्टी नेतृत्वले शाहलाई महामन्त्रीमा अघि बढाएको हो ।
प्रतिनिधिसभा निर्वाचनमा अछाम–२ बाट उम्मेदवार रहेका शाह उक्त निर्वाचनमा पराजित भएका थिए । पार्टी प्रवेशपछि उनी केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए ।
पार्टीका आन्तरिक संरचना सुदृढीकरण र संगठन विस्तारलाई प्रभावकारी बनाउन शाहलाई महामन्त्रीको जिम्मेवारी दिइएको रास्वपा नेतृत्वले जनाएको छ ।



