
काठमाडौं — काठमाडौं प्रहरीले विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा युवाहरूको विस्तृत सूची तयार पारेको जनाएको छ। गुण्डागर्दी वा आपराधिक पृष्ठभूमिका व्यक्तिहरूबाट त्रास फैलाउने गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई यस्ता गतिविधि देखिएमा तत्काल सूचना दिन आग्रह गरेको छ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उक्त जानकारी दिएका हुन्।

प्रहरीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत समूह प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने तथा नागरिकमा डर–त्रास सिर्जना गर्ने युवाहरूको पहिचान गरी सूची तयार पारिएको हो। यस्तो गतिविधिमा संलग्न अधिकांश व्यक्तिहरू गुण्डागर्दी समूहसँग सम्बन्धित रहेको प्रहरीको दाबी छ।
प्रहरीले करिब २०० जनाको विस्तृत प्रोफाइल तयार गरिसकेको जनाएको छ। यस सूचीमा पटक–पटक पक्राउ परेका, विभिन्न मुद्दा खेपेका तथा सामाजिक सञ्जालमार्फत समूह विस्तार र प्रचारमा सक्रिय व्यक्तिहरू समावेश छन्।
प्रोफाइलिङ गरिएका व्यक्तिहरूका व्यक्तिगत विवरण र सम्बन्धित कागजात समेत संकलन गरिएको प्रहरीले जनाएको छ। यसअघि सञ्चालन गरिएको ‘अपरेसन सेफ्टी’ अभियानअन्तर्गत ३३ जना युवालाई गुण्डागर्दीमा संलग्नताको आरोपमा पक्राउ गरिएको थियो। तीमध्ये १३ जना बुधबार धरौटीमा छुटे पनि उनीहरू अझै प्रहरीको निगरानीमै रहेको बताइएको छ।



