काठमाडौं । काठमाडौंको ठमेलस्थित प्रसिद्ध LOD Club सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ। बेलायतस्थित प्रतिष्ठित DJ Mag ले सार्वजनिक गरेको ‘टप १०० क्लब्स’ सूचीमा एलओडीले यो उपलब्धि हासिल गरेको हो।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराउँदै डिजे म्यागले उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्ष विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए।

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुककै लागि गौरवको विषय भएको बताएका छन्। उनका अनुसार एलओडीको सफलता क्लबको सीमाभन्दा बाहिर गएर नेपाललाई विश्व संगीत तथा मनोरञ्जन उद्योगमा चिनाउने अवसर बनेको छ।

उनले टप १०० सूचीमा ४०औँ स्थान हासिल गर्नु रात्रीकालीन जीवनशैली र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। यसले अन्तर्राष्ट्रिय पर्यटक तथा क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरिएको छ।

कुँवरका अनुसार क्लबको निरन्तर विकासमा टीमवर्क, रचनात्मकता र सेवा गुणस्तर मुख्य आधार रहेका छन्। उनले आगामी दिनमा क्लबलाई अझ अन्तर्राष्ट्रिय मापदण्डअनुसार विस्तार गर्ने लक्ष्य रहेको बताए।

पर्यटन व्यवसायसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस उपलब्धिले नेपालमा रात्रिकालीन मनोरञ्जन क्षेत्रको सम्भावनालाई उजागर गरेको पनि उनले बताए। मनोरञ्जनका लागि नेपाल आउने पर्यटकको संख्या बढ्दा समग्र पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

एलओडी क्लब यसअघि सन् २०२५ मा ४४औँ, २०२४ मा ५०औँ, २०२३ मा ४९औँ र २०२२ मा ५२औँ स्थानमा परेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय