
काठमाडौं । ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा तार्केश्वर नगरपालिका–१ का वडाध्यक्ष विदुर सापकोटा, काठमाडौँ महानगरपालिका–१६ का सदस्य हर्क खाती, विभिन्न सामुदायिक सेवा केन्द्र, टोल सुधार समिति, यातायात व्यवसायी, मजदुर संघ, होटल व्यवसाय लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा नागरिक–प्रहरी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले आ–आफ्ना सुझाव तथा धारणा राख्दै ट्राफिक व्यवस्थापन सुधारका लागि साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
त्यसैगरी, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यूले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कमा कार्यरत कर्मचारीहरूको निरीक्षण समेत गर्नुभएको थियो। उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको छ।



