
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध कडाइ गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार ७ सय १९ जना चालक ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ११३ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जनालाई पनि नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यस्तै, लेन अनुशासन पालना नगर्ने १७९ जना, सवारी साधनको यान्त्रिक अवस्था कमजोर भएका ३५ जना, सार्वजनिक सवारी असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थान बाहेक यात्रु चढाउने/ओराल्ने २० जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
यस अवधिमा अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९३ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।
ट्राफिक प्रहरीले जनाएको अनुसार उक्त कारबाहीबाट ११ लाख ८४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भई राज्यकोषमा दाखिला गरिएको छ।



