
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ।
नेपाल निर्माण व्यवसायी संघको १३औँ अधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका कटुवाललाई मतदान प्रक्रियाअघि नै पक्राउ गरिएपछि उनलाई जिताउन गएका मकवानपुरका व्यवसायीहरू निराश हुँदै रित्तो हात फर्किएका छन्।

सीआइबीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ‘बोलपत्र डटकम डट एनपी’ ह्याक गरी ठेक्का कब्जा गर्ने गिरोहबारे दुई महिनादेखि अनुसन्धान भइरहेको थियो। सोही क्रममा कटुवालको संलग्नता देखिएपछि उनलाई चैत १७ गते राति नियन्त्रणमा लिइएको हो।
अनुसन्धानमा संलग्न टोलीका अनुसार उक्त गिरोहले अन्य प्रतिस्पर्धीले पेश गरेका बोलपत्रहरू हेर्ने, त्यसपछि तोकिएको समय सकिन केही मिनेटअघि मात्र न्यून दर प्रस्ताव राखेर ठेक्का आफ्नो पक्षमा पार्ने रणनीति अपनाउँदै आएको थियो।
यसअघि पनि सीआइबीले यस्तै प्रकृतिका चार ठूला ठेक्का ह्याक प्रकरणमा संलग्न केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को करिब १० अर्ब रुपैयाँको ठेक्कामा समेत यस्तो हेरफेर भएको पुष्टि भएपछि आशिष निर्माण सेवा, सगुन निर्माण सेवा, रौताडा कन्स्ट्रक्सनलगायत कम्पनीहरू अनुसन्धानको दायरामा ल्याइएको थियो।
उक्त प्रकरणमा अब कटुवाल पनि थपिएका छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको सीआइबीले जनाएको छ।



