
काठमाडौं । आधारहीन र मनगढन्ते समाचार सामग्री सार्वजनिक गर्दै आएका सिन्धुपाल्चोकका सुरज खड्काविरुद्ध प्रेस काउन्सिल नेपालले कडा कदम चालेको छ।
खड्काले सञ्चालन गर्दै आएको “एनपीएल प्रेस डट कम” नामक अनलाइन प्लेटफर्मलाई काउन्सिलले कालोसूचीमा राख्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, उनको प्रेस पास खारेज गर्ने प्रक्रिया अघि बढाउन सुचना तथा प्सँरसारण विभाग समन्वय गरिएको छ।

खड्काले आफूलाई पत्रकारको रूपमा प्रस्तुत गर्दै विभिन्न विद्यालय तथा सरकारी निकायमा पुगेर वा सम्पर्क गरी आफ्नो मिडियाबाट नकारात्मक समाचार प्रकाशन गरिदिने धम्की दिने गरेको आरोप छ। उनले प्रमाणबिनै आशंकामा आधारित सामग्रीलाई अतिरञ्जित ढंगले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा फैलाउने गरेका थिए।
विशेषगरी बालबालिका र शैक्षिक संस्थासँग सम्बन्धित संवेदनशील विषयमा समेत जिम्मेवारीविहीन सामग्री सार्वजनिक गरेको भन्दै व्यापक आलोचना भएको थियो। सामान्य घटनालाई समेत गम्भीर आपराधिक घटनाका रूपमा चित्रण गर्ने, पीडितको पहिचान खुलाउने जस्ता कार्यले पत्रकारिताको मर्यादामाथि प्रश्न उठाएको छ।
पीडित पक्षबाट प्राप्त उजुरीका आधारमा काउन्सिलले पटक–पटक सचेत गराउँदा पनि सुधार नदेखिएपछि अन्ततः कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।



