
काठमाण्डौं । गुल्मी जिल्लामा उत्पादन हुने कफिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यसहित “गुल्मी कफि” ब्रान्डिङ अभियानलाई तीव्रता दिन आज काठमाण्डौमा सरोकारवालासँग महत्वपूर्ण छलफल गरिएको छ।

गुल्मी–१ बाट निर्वाचित सांसद सागर ढकाल र गुल्मी–२ का सांसद गोविन्द पन्थी को पहलमा आयोजित उक्त छलफलमा कफि खेतीको व्यावसायिकीकरण, किसान (उद्योगी) लाई उचित मूल्य सुनिश्चितता तथा दिगो बजार व्यवस्थापनका विषयमा गम्भीर विमर्श गरिएको हो।
छलफलका क्रममा निर्वाचनताका जनतासँग गरिएको प्रतिबद्धता—गुल्मीमा उत्पादन हुने कफिलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने—लाई व्यवहारमा उतार्ने विषयमा साझा धारणा बनाइएको बताइएको छ।
कार्यक्रममा कफि उत्पादनलाई आधुनिक र व्यावसायिक बनाउने, किसानलाई न्यूनतम समर्थन मूल्यसहित बजार सुनिश्चित गर्ने, सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै प्रशोधन र ब्रान्डिङलाई तीव्रता दिने तथा “गुल्मी कफि” लाई विशिष्ट पहिचानका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारिएको छ।
यद्यपि, छलफलमा कफि क्षेत्रका विभिन्न समस्या पनि औंल्याइएका छन्। छरिएको उत्पादन प्रणाली, प्रशोधनको अभाव, खुला सिमानाका कारण आयातित कफि नै नेपाली उत्पादनका रूपमा बजारमा जाने जोखिम, कमजोर बजार पहुँच तथा मूल्य अस्थिरता मुख्य चुनौतीका रूपमा उठाइएको छ।
त्यसैगरी, प्रविधिको अभाव, लगानीको कमी, कडा बजार प्रतिस्पर्धा र दीर्घकालीन नीति कार्यान्वयनको कमजोरीलाई पनि चुनौतीका रूपमा औंल्याइएको छ।
तर, गुणस्तरीय अर्गानिक कफिको बढ्दो माग, अनुकूल भौगोलिक अवस्था र ब्रान्डिङको ठूलो सम्भावनाले “गुल्मी कफि” लाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने आधार बलियो रहेको निष्कर्ष निकालिएको छ।
छलफलमा सहभागीहरूले किसानको मेहनतको सम्मान, उत्पादनको उचित मूल्य र “गुल्मी कफि” को विश्वव्यापी पहिचान स्थापित गर्ने दिशामा समन्वयात्मक पहल आवश्यक रहेकोमा जोड दिएका छन्।
स्थानीय सरोकारवालाहरूका अनुसार, “गुल्मी कफि” केवल कृषि उत्पादन मात्र नभई जिल्लाको पहिचान र आर्थिक समृद्धिको आधार बन्न सक्ने विश्वास गरिएको छ।
@



