उर्लाबारी। इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीले आफ्नो इतिहासमै पहिलोपटक महिला नेतृत्व पाएको छ। सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले कार्यालयको कमाण्ड सम्हाल्ने भएकी छन्।

उनी उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत उजुरी छानबिन तथा मानवअधिकार शाखामा कार्यरत थिइन्। त्यहाँबाट सरुवा भई उर्लाबारी आएकी वलीलाई संगठनभित्र कुशल, अनुशासित र जिम्मेवार अधिकृतका रूपमा चिनिन्छ।

यसअघि इप्रका उर्लाबारीको नेतृत्व सम्हाल्दै आएका प्रहरी निरीक्षक रञ्जन बरालको भने दुहबी स्थित विशेष सुरक्षा गणमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले गत शुक्रबार २४ जना प्रहरी निरीक्षकको काज सरुवा गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत वलीको उर्लाबारीमा पदस्थापन गरिएको हो।

इतिहास हेर्दा, वि.सं. २०५० साल वैशाख महिनाबाट इप्रका उर्लाबारीमा प्रहरी निरीक्षकको दरबन्दी थप गरिएको थियो। त्यसयता पहिलोपटक प्रनि. रघुवीर शेर्पाले इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। हालसम्म उक्त कार्यालयमा ५६ जना प्रहरी निरीक्षकको पदस्थापन भइसकेको प्रहरी अभिलेखमा उल्लेख छ।

यही क्रमलाई निरन्तरता दिँदै, इप्रका उर्लाबारीमा पहिलोपटक महिला अधिकृतको रूपमा नवीन वलीले कमाण्ड सम्हाल्नु संगठनभित्र लैङ्गिक समानता र महिला नेतृत्व सशक्तीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

स्थानीयवासी तथा सरोकारवाला निकायहरूले पनि वलीको नेतृत्वमा प्रहरी सेवामा थप प्रभावकारिता, पारदर्शिता र नागरिकमैत्री व्यवहारको अपेक्षा गरेका छन्। प्रहरीले समाजसँगको सम्बन्ध सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न अझ सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय