काठमाडौं — चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले स्वयम्भू क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्ट का अनुसार कार्कीमाथि वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम असुलेको आरोप लागेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीविरुद्ध पासाङ नोर्बु तामाङसहितका पीडितहरूले जाहेरी दिएका थिए।

प्रहरीका अनुसार कार्कीविरुद्ध वैदेशिक रोजगार ठगीसम्बन्धी ६ वटा पक्राउ पुर्जी जारी भएको खुलेको छ। पक्राउपछि उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

अनुसन्धानका क्रममा कार्कीले काठमाडौंको चाबहिलमा ‘पी एण्ड एम इनोभेशन सर्भिस’ नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएको र सोही माध्यमबाट ठगी गरेको आशंका गरिएको छ। उक्त कन्सल्टेन्सी विगत १० वर्षदेखि सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

हाल कार्कीमाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय