धनगढी — कैलालीको टीकापुरस्थित खक्रौला भन्सारमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीहरूको समूहले प्रवेश गरेर डीएसपी प्रदीप पौडेलमाथि हातपात गरेको घटना सार्वजनिक भएको छ।

बुधबार भएको उक्त घटनामा टीकापुर क्षेत्रका केही व्यापारीहरूले गुल्मको गेट तोडफोड गर्दै जबर्जस्ती ब्यारेकभित्र प्रवेश गरेका थिए। स्थानीयका अनुसार १५ जनाभन्दा बढीको समूह गुल्मभित्र छिरेर गुल्मपति पौडेलमाथि आक्रमणमा उत्रिएको हो।

घटनाको कारणबारे सशस्त्र प्रहरी सुदूरपश्चिम बाहिनीका एक अधिकृतले जानकारी दिँदै सशस्त्र प्रहरीले भन्सार छली नियन्त्रणमा कडाइ गर्दै आएको र त्यसैको प्रतिकारस्वरूप व्यापारीहरू आक्रोशित भएको बताए। उनका अनुसार मंगलबार मात्रै एक व्यापारीले भारतबाट भन्सार छली गरी ल्याएको करिब ५६ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको थियो।

‘भन्सार छली नियन्त्रणमा कडाइ गरेपछि केही व्यापारीहरू पहिलेदेखि नै असन्तुष्ट थिए, त्यसैको परिणामस्वरूप यस्तो अप्रिय घटना भएको हो,’ ती अधिकृतले बताए।

यस घटनापछि सशस्त्र प्रहरी सुदूरपश्चिमका निमित्त बाहिनीपति दिग्विजय सुवेदीले छानबिनका लागि एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन्। साथै, उक्त गुल्ममा कार्यरत सम्पूर्ण टोली फेरबदल गर्ने तयारी भइरहेको पनि उनले बताएका छन्।

घटनाले सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीमाथि नै आक्रमण भएको भन्दै स्थानीय स्तरमा समेत सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय