
भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु ५,३२,६२० बराबरका सामग्री बरामद गरेको छ।
प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार, चैत ३ गते गरिएको चेकजाँचको क्रममा तरकारी, कुखुरा, कपडा, किराना तथा अन्य सामान नियन्त्रणमा लिइएको हो।

बरामद सामग्रीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालिदहबाट करिब रु ८२ हजारको तरकारी, मायादेवी गाउँपालिका–५ पर्सहवाबाट २० केजी ब्रोइलर कुखुरा करिब रु १० हजार बराबर, सिद्धार्थनगर नगरपालिका–७ कासी कम्प्लेक्स नजिकबाट ४८६ मिटर कपडा करिब रु २,४३ हजार, लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ ओडलियाबाट १६० केजी केरा, १४ साडी र ३८ ब्लाउज करिब रु ४८ हजारको सामान समावेश छ।
त्यसैगरी, कोटहीमाई गाउँपालिका–७ कटैयाबाट करिब रु १० हजार बराबरको साइकल सामग्री, सिद्धार्थनगर–६ दुर्गा कलोनीबाट ४० केजी केरा करिब रु १,८५०, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ खुनगाईबाट ३०० केजी चिनी, ६० केजी सराफ, २८ प्याकेट बिस्कुट, १ पेटी स्याम्पु लगायतका सामग्री करिब रु ४९ हजारको हिसाबले बरामद गरिएको छ। सिद्धार्थनगर–१ बेलहिया कोठहीमाई मन्दिर नजिकबाट १५ पिस लेडिज सुट, ३७ प्याकेट निक्सोडन क्रिम र १ कार्टुन किसमिस करिब रु ८५ हजार बराबर नियन्त्रणमा लिइएको छ।
बरामद सामान पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा आवश्यक कारबाहीका लागि पठाइएको छ।
प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भने, “जिल्लामा तस्करी नियन्त्रणका लागि नियमित निगरानी र चेकजाँच कडाइका साथ सञ्चालन भइरहेको छ।”



