
सर्लाही — जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक कुमार यादव विभिन्न आपराधिक तथा अनुशासनहीन गतिविधिमा पटक–पटक मुछिँदै आएका छन्।
प्राप्त विवरणअनुसार हालसम्म यादवमाथि कुल ९ वटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्।

मुद्दाहरूको विस्तृत विवरण यसप्रकार छ: चोरीसम्बन्धी मुद्दा १ वटा , अभद्र व्यवहारसम्बन्धी मुद्दा ५ वटा ,ज्यान मार्ने उद्योग १ वटा , पहिले नै मुद्दा चलेको पाईएको छ र हाल आपराधिक उपद्रव १ वटा र सार्वजनिक सेवा अवरुद्ध गर्ने कसूर — १ वटा गरि जम्मा ९ वटा भईसकेको पाईएको छ ।
विशेषतः अभद्र व्यवहार र हिंसात्मक गतिविधिहरूमा निरन्तर मुछिनुले सार्वजनिक जीवनमा यादवको चरित्र, आचरण र नैतिकताको स्तरप्रति गम्भीर प्रश्न खडा भएको छ।
हालै सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको विवाद तथा धम्कीपूर्ण टेलिफोन वार्ताको अडियो सार्वजनिक भएपछि यादव पुनः विवादको केन्द्रमा आएका छन्। सोही घटनाको सन्दर्भमा जिल्ला अदालत सर्लाहीले अशोक यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ।
प्रहरीका अनुसार बिहीबार राति मलंगवास्थित पूर्वाधार कार्यालयमा चेक काट्ने विषयमा सुरक्षा व्यवस्थापनलाई लिएर यादवले एसपी खड्कामाथि “कमिसनको आधारमा सुरक्षा दिएको” आरोप लगाएका थिए।
एसपी खड्काले भने फोनमार्फत सुरक्षाको माग आएपछि मात्र प्रहरी परिचालन गरिएको स्पष्टिकरण दिएका छन्। यस घटनापछि यादवमाथि सरकारी सवारीसाधनमा तोडफोड गरेको आरोपसमेत लागेको छ। एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भए पनि समाचार तयार पार्दासम्म उनी फरार रहेका छन्।
प्रदेश स्तरका नेताहरूबाट सार्वजनिक संरचना, सुरक्षातन्त्र र प्रशासनिक प्रक्रियामा भएको हस्तक्षेप गम्भीर चिन्ताको विषय बनेको छ। लोकतान्त्रिक मूल्य र विधिको शासनमा यस्तो आचरण कानूनको उपहास र संस्थागत विश्वसनीयतामाथि प्रहार हो।
राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिहरू पनि कानूनी शासनको दायरामा आउनुपर्छ भन्ने सन्देश दिन, सरकार तथा न्यायिक संयन्त्रले निष्पक्ष अनुसन्धान र कारबाही सुनिश्चित गर्नु अत्यावश्यक छ।
अशोक कुमार यादवमाथि पहिले चलेका मुद्दाहरू (जम्मा: ७ वटा):
१.चोरी मुद्दा (१) —मिति २०६६।०६।१० — लेखापालसँग रहेको नगद रकम लुटपाट र गाडीको सिसा फोडिएको आरोपमा मुद्दा दर्ता।
२.ज्यान मार्ने उद्योग (१) – मिति २०७७।०२।२७ — सडकको जग्गा विवादमा कुटपिट गर्दै ज्यान मार्ने प्रयास गरिएको आरोप।
३. अभद्र व्यवहार (५ वटा)
- मिति २०५७।०९।०८ — व्यक्तिलाई गालीगलौज र हातपात।
- मिति २०७२।०९।०५ — प्रशासन कार्यालयमा तोडफोड र कर्मचारीलाई धम्की।
- मिति २०७२।११।४५ — ड्युटीमा खटिएको प्रहरीलाई गालीगलौज।
- मिति २०७३।०४।१३ — सरकारी कार्यालयमा अनाधिकृत प्रवेश, धम्की र आक्रामक व्यवहार।
- मिति २०७३।०८।२९ — प्रहरी चेकजाँचमा अवरोध, गालीगलौज र हातपात प्रयास।




