
काठमाडौँ — सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
ग्रुपका अनुसार प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जीवनसमेत प्रभावित भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको हो।

विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत गरेको जनाएको छ।
कम्पनीका अनुसार सेवा शुल्क मिनाहा गर्ने निर्णय बाढी आएको दिनदेखि नै लागू गरिएको हो।




