
काठमाडौँ । बारा, सिमरास्थित इलाका प्रहरी कार्यालयका डीएसपी दिलीप क्षेत्रीलाई जिम्मेवारीबाट हटाइएको छ। उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउँदै सिमराको नयाँ डीएसपीका रूपमा दयाकृष्ण भट्टलाई पठाइएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्णयअनुसार क्षेत्रीको काज सरुवा गरिएको हो। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सिमरामा कार्यरत क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ।

यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी भट्टलाई सिमराको जिम्मेवारी दिइएको हो।
सिमरामा तीन वर्षीया गरिमा चौधरी मृत अवस्थामा भेटिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो। साउन ३१ गतेदेखि हराएकी गरिमाको शव भदौ २ गते जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित एक खाली घरमा फेला परेको थियो।
प्रहरीको अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ। घटनापछि बालिका हराएको जानकारी गराउँदा समेत प्रहरीले खोजतलास तथा अनुसन्धानमा अपेक्षित सक्रियता नदेखाएको स्थानीयले आरोप लगाउँदै आन्दोलनसमेत गरेका थिए।
घटनालाई लिएर प्रतिनिधिसभाका सदस्यहरूले समेत प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै अनुसन्धान र सुरक्षा व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
गरिमा चौधरी प्रकरणमा प्रहरीको प्रारम्भिक भूमिकालाई लिएर आलोचना भइरहेका बेला सिमराका डीएसपीको जिम्मेवारी परिवर्तनलाई प्रहरी नेतृत्वले गरेको प्रशासनिक निर्णयका रूपमा हेरिएको छ।




