
जनकपुरधाम। नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम परिसरमा रक्तदान तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशकी अध्यक्ष मनिषा उप्रेती (अधिकारी) को अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशकी उपाध्यक्ष रञ्जना उप्रेती, मधेश प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, संघका पदाधिकारी तथा अन्य प्रहरी कर्मचारीसहित करिब १५० जनाको सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ३२ जना प्रहरी कर्मचारीले रक्तदान गरेका थिए भने परिसरमा वृक्षारोपणसमेत गरिएको थियो।
नेपाल प्रहरी श्रीमती संघले वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपणलगायत सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।




