सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रंगेहात पक्राउ परेका छन्।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार कार्यालय परिसरमै नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) प्रक्रिया अघि बढाइदिने नाममा पालले ५ लाख रुपैयाँ घुस मागेका थिए।

अनुसन्धानका क्रममा पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई लगायत अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै सेवाग्राहीसँग घुस रकम मागेको आरोप लागेको छ। रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने भन्दै कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको स्रोतले जनाएको छ।

कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो कार्यालयमा बोलाइए पनि रकम हस्तान्तरण हुन सकेन। त्यसपछि साँझ पालले फोनमार्फत आफू गोलबजार क्षेत्रमा रहेको जानकारी गराउँदै भोलिपल्ट बिहान भेट्ने प्रस्ताव गरेका थिए। उनले रकम बुझाउन एक बिचौलियाको सम्पर्क नम्बरसमेत उपलब्ध गराएका थिए।

बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन निर्देशन दिएका थिए। सोही योजनाअनुसार सेवाग्राही रकम लिएर कार्यालय पुगेका बेला अख्तियारको टोलीले पाललाई ५ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङ ले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। आयोगले घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा पनि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय