
जनकपुर, साउन ६ । मधेश प्रदेश प्रहरी कार्यालयले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम २०८३ साल असार महिनाका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले मंगलबार आयोजित कार्यक्रममा प्रहरी निरीक्षक मल्ललाई प्रशंसा–पत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

प्रहरी निरीक्षक मल्लले आफ्नो जिम्मेवारी क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन, प्रभावकारी प्रहरी सेवा, अपराध नियन्त्रण तथा अनुसन्धानमा देखाएको सक्रियता र व्यावसायिक दक्षताको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन, मनोबल अभिवृद्धि तथा सेवाप्रति थप जिम्मेवार बनाउन प्रत्येक महिना ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गर्दै सम्मान गर्ने व्यवस्था लागू गरेको छ।




