पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित हुलाकी सडकखण्डमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले तीव्र निगरानी बढाइरहेका बेला उक्त सफलता हात परेको हो।

प्रहरी निरीक्षक (प्र.नि.) समुन्नत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको BR06BH5496 नम्बरको भारतीय कारलाई शंका लागेपछि रोकी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा कारको पछाडिको सिटमुनि विशेष रूपमा लुकाइछिपाइ राखिएको सेतो प्लास्टिकमा प्याक गरिएको लागुऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल गर्दा २० केजी ६८७ ग्राम गाँजा रहेको पुष्टि भएको हो।

घटनापछि प्रहरीले कार चालक भारतको बिहार राज्य, सितामढी निवासी एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। बरामद गाँजा, प्रयोग गरिएको कार तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा उक्त गाँजा नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले ओसारपसार भइरहेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

पर्साको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध, अवैध सामान तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचलाई थप कडाइ गरेको छ। विशेषगरी हुलाकी सडक हुँदै हुने अवैध ओसारपसार रोक्न नियमित गस्ती, सवारी जाँच तथा सूचनाको आधारमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।

स्थानीयवासीका अनुसार प्रहरी निरीक्षक समुन्नत अधिकारीले यस क्षेत्रको कमाण्ड सम्हालेयता सीमावर्ती क्षेत्रमा प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। नियमित चेकजाँच, प्रभावकारी गस्ती तथा तस्करी नियन्त्रणमा केन्द्रित अभियानका कारण लागूऔषध र अवैध कारोबारका घटनामा कमी आउन थालेको स्थानीयहरूको भनाइ छ।

प्रहरीले सीमावर्ती क्षेत्रबाट हुने लागूऔषध तथा अन्य अवैध गतिविधि नियन्त्रणलाई अझ प्रभावकारी बनाउँदै यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय