
सुरक्षा सरोकार । देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनमा सेवा गर्नु आफैंमा चुनौतीपूर्ण र गौरवपूर्ण अवसर हो। प्रहरी सेवामा प्रवेश गर्न शारीरिक, मानसिक तथा बौद्धिक क्षमता परीक्षणदेखि लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षा पार गर्नुपर्छ। त्यसपछि मात्रै देश र जनताको सेवामा समर्पित हुने अवसर प्राप्त हुन्छ। यही कठिन यात्राबाट अघि बढ्दै आफ्नो इमानदारी, व्यावसायिक दक्षता र समर्पणका कारण विशिष्ट स्थान बनाउन सफल भएका गुल्मीका दुई व्यक्तित्व अहिले फरक–फरक क्षेत्रमा राष्ट्रसेवाको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्।
एकातिर नेपाल प्रहरी संगठनको सर्वोच्च नेतृत्व सम्हाल्दै प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की देशको सुरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका छन् भने अर्कोतर्फ गुल्मी–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी संसदमार्फत जनताको आवाज उठाइरहेका छन्। दुवैको यात्राको सुरुआत भने नेपाल प्रहरी संगठनबाट भएको हो।

गोविन्द पन्थी : प्रहरी सेवाबाट संसदसम्मको यात्रा
गुल्मी जिल्लाको मदाने गाउँपालिका–७ मा वि.सं. २०३१ फागुन १६ गते जन्मनुभएका गोविन्द पन्थीले सामान्य पारिवारिक परिवेशमा हुर्किंदै गाउँमै प्रारम्भिक तथा माध्यमिक शिक्षा हासिल गर्नुभएको थियो। बाल्यकालदेखि नै अनुशासन, इमानदारी र सामाजिक सेवाप्रति रुचि राख्ने पन्थी परिवारकै प्रेरणाबाट प्रहरी सेवातर्फ आकर्षित हुनुभयो।
वि.सं. २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षक (एएसआई) पदबाट नेपाल प्रहरीमा प्रवेश गर्नुभएका पन्थीले करिब तीन दशक प्रहरी संगठनमा रहेर अपराध अनुसन्धान, प्रहरी प्रशासन तथा जनसेवाका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (तत्कालीन अपराध महाशाखा) मा कार्यरत रहँदा उहाँले वैदेशिक रोजगारीका नाममा हुने ठगी, संगठित अपराध तथा चर्चित भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रिय भूमिका खेल्नुभएको थियो। अनुसन्धान क्षेत्रमा उहाँको व्यावसायिक क्षमता र निष्पक्ष कार्यशैलीका कारण सहकर्मी तथा वरिष्ठ अधिकारीबाट प्रशंसा प्राप्त भएको बताइन्छ।
नेपाल प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा रहँदा प्रहरी कर्मचारीको वृत्ति विकास, सरुवा, बढुवा तथा प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित कार्यमा योगदान पुर्याउनुभएको थियो। संगठनभित्र रहेका कर्मचारीका समस्या सुन्ने र समाधानको प्रयास गर्ने अधिकारीका रूपमा समेत उहाँ परिचित रहनुभयो।
विभिन्न जिल्ला र इलाकाको कमाण्ड सम्हाल्दै सफल प्रहरी अधिकृतका रूपमा पहिचान बनाउनुभएका पन्थी प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट सेवा निवृत्त हुनुभयो।
सेवानिवृत्तिपछि पनि सार्वजनिक सेवाको भावना नत्यागी उहाँ राजनीतिमा प्रवेश गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गुल्मी–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पन्थीले सीमित संगठनात्मक संरचना र साधनस्रोतका बीच पनि जनविश्वासलाई आफ्नो मुख्य शक्ति बनाएर चुनावी मैदानमा उत्रनुभयो। अन्ततः कडा प्रतिस्पर्धाबीच विजयी हुँदै संसदमा पुग्न सफल हुनुभयो।
हाल उहाँ संसदमा सुशासन, पारदर्शिता, जनसरोकारका विषय तथा विकास निर्माणका मुद्दामा सक्रिय रूपमा आवाज उठाइरहनुभएको छ।
दान बहादुर कार्की : प्रहरी संगठनको सर्वोच्च नेतृत्वसम्मको यात्रा
गुल्मी जिल्लाको मालिका गाउँपालिका–७ मा वि.सं. २०२७ साउन १५ गते जन्मनुभएका दान बहादुर कार्की बाल्यकालदेखि नै मेहनती, अनुशासित र अध्ययनशील स्वभावका रूपमा परिचित हुनुहुन्थ्यो। गाउँबाट प्रारम्भिक शिक्षा पूरा गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आउनुभएका कार्कीले अध्ययनसँगै राष्ट्रसेवाको लक्ष्य तय गर्नुभयो।
त्यही उद्देश्यअनुसार वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरीमा प्रवेश गर्नुभयो। सेवा अवधिभर उहाँले विभिन्न जिल्ला, प्रदेश तथा प्रहरी प्रधान कार्यालयका महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभयो।
अपराध अनुसन्धान, सुरक्षा व्यवस्थापन, प्रहरी प्रशासन, विपद् व्यवस्थापन तथा नीतिगत तहमा काम गर्दै अनुभव हासिल गर्नुभएका कार्कीले संगठनभित्र कुशल, शान्त र परिणाममुखी नेतृत्वको परिचय दिनुभयो।
आन्तरिक बढुवाको क्रममा प्रहरी नायब उपरीक्षक, प्रहरी उपरीक्षक, वरिष्ठ प्रहरी उपरीक्षक, प्रहरी नायब महानिरीक्षक, अतिरिक्त महानिरीक्षक हुँदै वि.सं. २०८२ कात्तिक २७ गते नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनुभयो।
उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त गर्नुका साथै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत नेपालको प्रतिनिधित्व गर्दै सेवा प्रदान गर्नुभएको छ। संगठनको आधुनिकीकरण, प्रविधिमैत्री प्रहरी सेवा, व्यावसायिक क्षमता अभिवृद्धि तथा जनमैत्री प्रहरी सेवामा उहाँले विशेष जोड दिँदै आउनुभएको छ।
प्रहरीको मनोबल बढाउने नेतृत्व
प्रहरी संगठनमा अनुशासनसँगै मनोबल पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने मान्यतामा विश्वास गर्ने कार्कीले प्रहरी कर्मचारीको मानसिक सुदृढीकरण र आत्मविश्वास बढाउन विशेष चासो देखाउँदै आउनुभएको छ।
जेन्जी आन्दोलनपछि तनावपूर्ण अवस्थामा खटिएका प्रहरी कर्मचारीलाई हौसला दिन उहाँको पहलमा सार्वजनिक भएको “आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ” बोलको प्रेरणादायी गीतले प्रहरी संगठनभित्र मात्र होइन, सर्वसाधारणमाझ पनि सकारात्मक सन्देश फैलाएको थियो। उक्त गीतका शब्दले धेरै प्रहरी कर्मचारी र नागरिकलाई भावुक बनाएको प्रतिक्रिया सार्वजनिक भएको थियो।
संगठनप्रति आशा र अपेक्षा
प्रहरी कर्मचारीको सेवा–सुविधा, वृत्ति विकास, तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल वृद्धि तथा संगठनभित्र समान अवसरको वातावरण निर्माणका विषयमा प्रहरी कर्मचारीले समय–समयमा आफ्ना अपेक्षा राख्दै आएका छन्। वर्तमान नेतृत्वले यस्ता विषयमा सकारात्मक पहल गर्ने विश्वास संगठनभित्र रहेको देखिन्छ।
गुल्मीको गौरव
गुल्मी जिल्लाबाट नेपाल प्रहरीको सर्वोच्च नेतृत्व र संघीय संसदसम्म पुगेका यी दुई व्यक्तित्वले आ–आफ्नो क्षेत्रमा राष्ट्रसेवाको उदाहरण प्रस्तुत गरेका छन्। एकजनाले सुरक्षा संगठनको नेतृत्व गर्दै देशको शान्ति सुरक्षालाई मजबुत बनाउने जिम्मेवारी सम्हालिरहेका छन् भने अर्काले जनप्रतिनिधिका रूपमा नागरिकका समस्या संसदसम्म पुर्याउने भूमिका निर्वाह गरिरहेका छन्।
समर्पण, इमानदारी, व्यावसायिक दक्षता र राष्ट्रसेवाप्रतिको प्रतिबद्धताले यी दुवै व्यक्तित्वलाई फरक पहिचान दिएको छ। आगामी दिनमा पनि उनीहरूको योगदान अझ प्रभावकारी, जनमुखी र प्रेरणादायी बनोस् भन्ने शुभकामना।
लेखक : विशाल भण्डारी
पुर्व प्रहरी , हाल जापान




