
पोखरा (गण्डकी) । जिल्ला प्रहरी कार्यालय कास्कीले गत असार महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये ४८ जना पुरुष र १८ जना महिला रहेका छन्। उनीहरू अदालतको फैसला अनुसार कैद सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद सजाय कार्यान्वयन तथा जरिवाना असुलउपरका लागि सम्बन्धित अदालतमा पेस गरिएको छ। उनीहरूबाट ११ वर्ष ११ महिना २ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै रु २ करोड ३९ लाख ७२ हजार ९९५ बिगो रकम असुलउपर गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरू चेक अनादर, सार्वजनिक शान्तिविरुद्धका कसुर, अंश तथा मानाचामल, लेनदेन, बैंकिङ कसुर, सवारी ज्यान, अभद्र व्यवहारलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका थिए।
गत असार महिनामा कास्कीमा विभिन्न अपराधसँग सम्बन्धित २४५ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ११, आर्थिक अपराधका ८५ तथा अन्य प्रकृतिका १२१ मुद्दा रहेका छन्।
प्रहरीले पछिल्लो समय अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ।




