काठमाडौं । अवैध लागुऔषध तथा त्यसमा प्रयोग हुने रसायन (प्रिकर्सर) को घटनास्थलमै द्रुत परीक्षण गर्न सकिने अत्याधुनिक परीक्षण किट संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरीलाई उपलब्ध गराएको छ।

बुधबार पुल्चोकस्थित युएन हाउसमा आयोजित कार्यक्रममा अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरो (INL) ले लागुऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (UNODC) सँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरेको हो।

नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बम ले नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुवास बोहरा लाई २८ थान ‘ड्रग तथा प्रिकर्सर टेस्टिङ किट’ हस्तान्तरण गरे। यससँगै भन्सार विभागलाई पनि १२ थान किट उपलब्ध गराइएको छ।

एसएसपी बोहराका अनुसार यी किटको प्रयोगबाट घटनास्थलमै शंकास्पद पदार्थ लागुऔषध हो वा होइन भन्ने तत्काल परीक्षण गर्न सकिनेछ। साथै, लागुऔषध उत्पादनमा प्रयोग हुने प्रिकर्सर रसायनको समेत छिटो पहिचान गर्न सकिने भएकाले अनुसन्धानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

उनले नेपालभित्र तथा नेपाललाई ट्रान्जिट बनाएर हुने अन्तरदेशीय लागुऔषध ओसारपसार नियन्त्रणमा समेत यसले महत्वपूर्ण सहयोग पुग्ने बताए।

प्रहरीका अनुसार परीक्षण किटको प्रयोगले प्रारम्भिक अनुसन्धानलाई छिटो, सहज र वैज्ञानिक बनाउँदै लागुऔषध नियन्त्रण अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय