
बॅाके । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले बाँकेमा कार्यरत प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई २०८३ साल जेठ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषित गरेको छ।
बाँके जिल्ला ट्राफिक प्रहरी प्रमुखका रूपमा कार्यरत प्रहरी निरीक्षक शाहीले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन तथा ट्राफिक नियम कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार शाहीको नेतृत्वमा जेठ महिनाभर ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ८०७ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १५ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यस अवधिमा सवारी चालक, सहचालक तथा सवारीधनीलाई लक्षित गरी १५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। साथै, ध्वनि प्रदूषण गर्ने तीनवटा मोटरसाइकलमाथि कारबाही, २३१ वटा सवारीसाधनको यान्त्रिक परीक्षण, अटो तथा ई–रिक्सा व्यवस्थापन, सडक अनुशासन कायम तथा सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै प्रहरी निरीक्षक शाहीलाई सम्मानपत्र प्रदान गरेका हुन्।
कार्यालयले प्रदेशभर कार्यरत ट्राफिक प्रहरी कर्मचारीमा व्यावसायिक प्रतिस्पर्धा, उत्कृष्ट कार्यसम्पादन र सेवाप्रति उत्प्रेरणा अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक महिना ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गर्दै आएको जनाएको छ।




