वीरगञ्ज । खुला सीमाका कारण तस्करी, लागूऔषध कारोबार, हुण्डी, राजस्व छली तथा अन्य संगठित आपराधिक गतिविधिको उच्च जोखिममा रहने पर्सा जिल्लामा पछिल्लो समय प्रहरीको कार्यसम्पादन उल्लेखनीय देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनामा जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण र कानुनी शासन कार्यान्वयनका क्षेत्रमा प्रभावकारी उपलब्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार समीक्षा अवधिमा ६२ करोड ९६ लाख ३२ हजार ६९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ। साथै, विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका १ हजार २७ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये १७० वर्ष ५ महिना १ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ८ करोड २६ लाख ३ हजार ७१५ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ।

भारतसँग खुला सीमा जोडिएको पर्सा जिल्लालाई अवैध आयात–निर्यात, हुण्डी कारोबार, भन्सार छली तथा लागूऔषध ओसारपसारको प्रमुख ट्रान्जिट क्षेत्र मानिन्छ। यस्ता गतिविधिले राज्यको राजस्वमा नोक्सानी पुर्‍याउनुका साथै संगठित अपराधलाई समेत बल पुग्ने भएकाले प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी र नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले सूचना–आधारित अनुसन्धान, नियमित चेकजाँच, विशेष सुरक्षा अपरेसन तथा सम्बन्धित निकायसँगको समन्वयलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरेको छ। यसै रणनीतिका कारण अवैध कारोबार नियन्त्रण र फरार अपराधी पक्राउमा उल्लेखनीय सफलता हासिल भएको प्रहरीको दाबी छ।

प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा प्रहरीले परम्परागत प्रतिक्रियात्मक शैलीभन्दा अघि बढेर सम्भावित अपराधको पूर्वसूचना संकलन, जोखिम विश्लेषण, संवेदनशील क्षेत्रको पहिचान र रणनीतिक परिचालनलाई केन्द्रमा राख्दै काम गरिरहेको जनाएको छ। प्रहरीका अनुसार यही कार्यशैलीका कारण छोटो अवधिमै अपराध नियन्त्रणका विभिन्न सूचकमा सकारात्मक नतिजा देखिन थालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय