काठमाडौं । सीमा क्षेत्रमा हुने तस्करी, राजस्व चुहावट तथा अवैध गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउन नारायणदत्त पौडेल नेतृत्वको सशस्त्र प्रहरी बलले व्यापक प्रशासनिक सुधार अभियान अघि बढाएको छ। लामो समय एउटै जिल्लामा कार्यरत १,८०३ जना सशस्त्र प्रहरी कर्मचारीको अन्तरजिल्ला सरुवा गरिएको छ भने अनुशासन उल्लंघन गर्ने ६७ जनामाथि कारबाही गरिएको छ।

सशस्त्र प्रहरी मुख्यालयले कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमा क्षेत्रमा कार्यरत जनशक्तिको पुनर्संरचना गर्दै कमजोर कार्यसम्पादन देखिएका नौ जना सीमा सुरक्षा गुल्म तथा बीओपी कमाण्डरलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ। सुनसरीस्थित नं. १ बराह बाहिनी मातहत कार्यरत तीन जनामाथि तस्करीसँग सम्बन्धित आरोपबारे छानबिन पनि अघि बढाइएको छ।

आईजीपी पौडेलले संगठनभित्र परिपत्र जारी गर्दै सीमा अपराध वा तस्करीमा संलग्न पाइए जुनसुकै दर्जाका कर्मचारीमाथि कडा कारबाही हुने स्पष्ट चेतावनी दिएका छन्। संगठनभित्र आर्थिक सुशासन कायम गर्ने र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अभियान अघि बढाइएको जनाइएको छ।

यता, नेपाल प्रहरीभित्र भने सादा पोशाकमा परिचालित ‘घुमुवा’ प्रणालीलाई लिएर प्रश्न उठिरहेकै छन्। विशेषगरी मधेश प्रदेशका सीमा जिल्लामा केही प्रहरी कर्मचारीले प्रभाव र पहुँचको आडमा तस्करीको लाइन मिलाउने तथा आर्थिक लाभ लिने गरेको आरोप सार्वजनिक हुँदै आएको छ।

 

गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालनमा कडाइ गर्ने नीति लिएको भए पनि केही जिल्लामा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो बढ्दै गएको छ। सुरक्षा निकायभित्र सुशासन र पारदर्शिताको अपेक्षा भइरहेका बेला यस्ता आरोपको निष्पक्ष छानबिन र आवश्यक कारबाहीप्रति चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय