
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरी जरिबाना नतिर्ने सवारी चालक तथा धनीमाथि कडाइ सुरु गरिएको छ। अब ट्राफिक कारबाहीमा परेपछि तोकिएको जरिबाना नतिर्नेहरूले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने विभिन्न सेवा, विशेषगरी सवारीसाधन खरिदबिक्रीसम्बन्धी सेवा, लिन नपाउने भएका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनलाइन प्रणालीमार्फत कारबाहीमा परेर पनि लामो समयसम्म जरिबाना नतिर्ने २ लाख ६१ हजार सवारीधनीको विवरण यातायात व्यवस्था कार्यालयमा पठाएको थियो। सोही विवरणका आधारमा सम्बन्धित व्यक्तिहरूको सेवा रोक्का गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार जरिबाना नतिरी लामो समयसम्म बेवास्ता गर्ने सवारीधनीविरुद्ध आवश्यक प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार ट्राफिक कार्यालयले विवरण पठाएपछि यातायात कार्यालयले सम्बन्धित सेवाग्राहीलाई सेवा दिन रोक लगाएको छ।
यो व्यवस्थासँगै जरिबाना नतिरेका सवारीधनीले सवारीसाधन नामसारी, खरिदबिक्रीलगायत यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुने सेवा प्राप्त गर्न सक्ने छैनन्। ती सेवा लिनुअघि सम्बन्धित ट्राफिक जरिबाना अनिवार्य रूपमा बुझाएको हुनुपर्ने व्यवस्था लागू गरिएको छ।
यातायात कार्यालयले जरिबाना बाँकी रहेका सवारीधनीलाई मोबाइल सन्देशमार्फत जानकारीसमेत गराइरहेको जनाएको छ।




