
काठमाडौं । नेपाल प्रहरीले जिल्ला तहको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कमान्ड संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। प्रहरी प्रधान कार्यालयले परिपत्र जारी गर्दै अबदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्बन्धित जिल्ला प्रहरी प्रमुखको प्रत्यक्ष कमान्ड र निर्देशनमा सञ्चालन हुने व्यवस्था लागू गरेको हो।
यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मातहत सञ्चालन हुँदै आएका थिए। ट्राफिक प्रहरीको सरुवा, खटनपटन, प्रशासनिक व्यवस्थापन तथा परिचालनसम्बन्धी निर्णय पनि सोही कार्यालयबाट हुँदै आएको थियो।

नयाँ व्यवस्थाअनुसार अब जिल्ला प्रहरी प्रमुखले ट्राफिक प्रहरीको दैनिक परिचालन, ट्राफिक व्यवस्थापन, समन्वय तथा जिल्लास्तरीय सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष नेतृत्व गर्नेछन्। यसबाट ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षासम्बन्धी कार्यलाई एकीकृत रूपमा सञ्चालन गर्न सहज हुने प्रहरी स्रोतको भनाइ छ।
यसअघि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय फरक–फरक कमान्ड संरचनामा सञ्चालन हुँदा समन्वय अभाव, जिम्मेवारी बाँडफाँट तथा आकस्मिक परिचालनका क्रममा विभिन्न व्यावहारिक समस्या देखिने गरेका थिए। नयाँ निर्णयले ती समस्या न्यूनीकरण गर्दै जिल्लास्तरमा एकीकृत कमान्ड प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले यससम्बन्धी परिपत्र सम्बन्धित सबै निकायमा पठाइसकेको छ भने नयाँ व्यवस्था तत्काल कार्यान्वयनमा आइसकेको जनाएको छ।
यद्यपि, यो व्यवस्था काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुर—मा भने लागू हुने छैन। ती जिल्लाका ट्राफिक प्रहरी कार्यालयहरू यथावत् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकै मातहत सञ्चालन हुनेछन्।




